|
कञ्चनपुर, ३० फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित आनन्दबजारमा भएको घटनामा परी गम्भीर घाइते भएका टिकाराम चापागाईंको अवस्था साविक भन्दा केही सुधार हुँदै गएको छ ।
बेलौरी नगरपालिका वडा नं. ६ शान्तिपुर निवासी टिकाराम चापागाईँ आनन्दबजारमा कल्भर्ट निर्माण देखि सुरु भएको भारतीय हस्तक्षेपको प्रतिरोध गर्दैगर्दा भारतीय एसएसबीको कुटाईमा पर्नुभएको थियो । हतियारसहित आएर धम्क्याएपछी आक्रोशित बनेका जनताले ढुंगामुढा गरेपछि भारतीय एसएसबीको गोलीबाट पुनर्वास नगरपालिका ८ माछापुच्छ्रे टोलका करीब ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो भने सोही दिन भारतीय प्रहरीले बन्दुकको नालले टाउको, पिठ्यु, ढाड र खुट्टामा हान्दा चापागाईं गम्भीर घाइते हुनुभएको थियो ।
३३ वर्षीय टिकाराम चापागाईंको नेपालगञ्ज स्थित वेष्टर्न हस्पिटलमा उपचार भइरहेको घाइते चापागाईंको कुरुवा रहनुभएका दिनेश शर्माले बताउनु भएको छ ।
२६ गते विहिबारको उक्त घटनामा परी घाइते हुनुभएका चापागाईंको अवस्थामा केही सुधार आए पनि सामान्य अवस्था तर्फ फर्काउन अझै कम्तीमा चार महिना जति समय लाग्ने अस्पताल श्रोतले बताएको छ । घाइतेको उपचारमा बढी खर्च हुन थालेपछि चापागाईंको परिवारलाई खर्च धान्न गाह्रो भएको छ ।
घाँटीनिरको बायाँ पट्टीको करङ र बायाँ पट्टीको माथिल्लो खुट्टाको हड्डीमा गहिरो चोट तथा शरीर भरी निलडाम रहेको घाइते चापागाईँकी श्रीमती सबिना चापागाईँले बताउनु भयो । उहाँका २ छोरी छन् ।
सामान्य मोबाइल मर्मत पसल सञ्चालन गरी गुजारा चलाउँदै आएका चापागाईँ गम्भीर घाइते भएपछि एकातर्फ परिवारको बिचल्ली भएको छ भने अर्कोतर्फ घाइते टिकाराम चापागाईँको उपचारमा लाग्ने खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले परिवारजनमा झन पीडा थपेको छ ।
आफ्नो देशको सीमा रक्षाका लागि भारतीयहरुको ज्यादतीको प्रतिरोध गर्दा घाइते भएका आफ्ना श्रीमानको उपचार खर्च र क्षतिपूर्ती नेपाल सरकारले भरणपोषण गरिदिनु पर्ने घाइते चापागाईँकी श्रीमती सबिना चापागाईँले माग गर्नुभयो ।
उक्त घटनामा भारतीय एसएसबी, प्रहरी र भारतीय स्थानीय नागरीकको आक्रमणबाट घटनास्थल पुगेका ५० भन्दा बढी स्थानीयबासी, आधा दर्जन भन्दाबढी नेपाल प्रहरी र सशस्त्र प्रहरी घाइते भएका थिए । नेपाली बजार आनन्दबजार मै हतियार सहित भित्रिएका भारतीय एसएसबीले नेपाली नम्बरको दुई ओटा मोटरसाइकल तोडफोड गर्नुका साथै दुई वटा घरमा तोडफोड र लुटपाट गरेको स्थानीय पत्रकार हेमन्त न्यौपानेले बताउनुभयो । घरमा भएको दराज, कुर्सी टेबल सबै केही लगेका थिए भने केही सामान तोडफोड गरि छाडेका थिए ।
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment