Thursday, March 2, 2017

काठमाडौँमा स्वाइन फ्लुका बिरामी फेला ! विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १९ फागुन । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि सो रोगको भाइरस देखिएको डा पुनले बताए । उनले भने, “दुई हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइनफ्लुको शङ्का लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो ।”

खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा पुनले बताए।

पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे। मिडिया एनपी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment