|
|
सरकारबाट मन्त्री फिर्ता बोलाउने तर संविधान संशोधन विधेयकलाई कुनै हालतमा समर्थन नगर्ने अडान लिएका थापा आज पुष्पकमल दाहाल नेतृत्वको सरकारका उपप्रधानमन्त्री बन्दैछन् । उनले साँझ साढे ६ बजे उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको सपथ लिने बताइएको छ ।
पार्टी शीर्ष नेताहरुले ‘सरकार असफल भइसक्यो, अब पार्टीले समर्थन फिर्ता लिनुपर्न’ भन्ने प्रतिक्रिया दिइरहेका बेला अध्यक्ष थापाले एकाएक सरकारमा सहभागी हुने निर्णय गरेपछि सबैलाई आश्चर्यमा पारेको हो ।
एकाएक सरकारमा जान किन तयार भए थापा ?
सुत्रहरुका अनुसार थापाले सरकारमा जान यसअघि नै ‘बार्गेनिङ’ गरिरहेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले त्यसलाई महत्व दिएका थिएनन् । प्रधानमन्त्रीले यसअघि पनि राप्रपालाई सरकारमा सहभागी हुन आग्रह गरेकै हुन् । त्यतिबेला राप्रपाले महत्वपूर्ण मन्त्रालय मागेको थियो । यतिसम्मकी निर्वाचनका लागि महत्वपूर्ण मानिने स्थानीय विकास मन्त्रालय पनि । जसलाई माओवादी केन्द्रले सम्हालिरहेको थियो । यो मन्त्रालय दिन प्रधानमन्त्री मानेनन् र राप्रपा आफूले रोजेको मन्त्रालय नपाएपछि सरकारमा नजाने निर्णयमा पुग्यो ।
तर, नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीमा भएको घटनापछि मधेसी मोर्चाले समर्थन फिर्ता लिने धम्की दियो । यो धम्कीले आफू अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री आफै राप्रपाको ‘शरण’मा पुगे । रोजेको मन्त्रालय दिन तयार भए । आफूले रोजेको मन्त्रालय पाएपछि राप्रपा अध्यक्ष कमल थापा एकाएक सरकारमा जान तयार भए ।
बुधबार (हिजो) विहान मधेसी मोर्चाले एक हप्ताभित्र निर्वाचन स्थगित गरेर संविधान संशोधन नगरे समर्थन फिर्ता लिने चेतावनी दिएलगत्तै प्रधानमन्त्रीले त्यही साँझ राप्रपा नेताहरुसँग सम्पर्क गरेका थिए । त्यसपछि आज विहान बसेको राप्रपाका शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्यो ।
स्रोतका अनुसार मधेसी मोर्चाले समर्थन फिर्ता लिने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्डले बाध्य भएर राप्रपालाई सरकारमा समेट्नुपरेको हो ।
संविधान संशोधन विधेयक पारित गर्न सहज
राप्रपा अध्यक्ष थापा सरकारमा सहभागी भएसँगै मधेसी मोर्चाको माग पूरा गर्न ल्याइएको संविधान संशोधन विधेयक पारित गर्न सरकारलाई सहज हुने आँकलन गरिएको छ । स्रोतका अनुसार संविधान संशोधन प्रक्रियामा पनि सहमति गरेर मध्यधारबाट अगाडि बढ्ने तयारी सरकारको छ ।
यसअघि राप्रपा अध्यक्ष थापाले मधेसी मोर्चाको माग पूरा गर्न ल्याइएको संविधान संशोधन विधेयक अहिलेकै अवस्थामा पारित गर्न नसक्ने बताउँदै आएका थिए । तर, आफै सरकारमा गएपछि त्यसलाई कसरी पारित गर्नेहुन् त्यो हेर्न बाँकी छ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment