Monday, March 13, 2017

भारत बिरुद्द चर्का नारा सहित राष्ट्रिय सहिद गौतमको यसरी भयो राजकीय अन्तेष्टि

धनगढी – भारतीय सुरक्षाकर्र्मीले गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानसाथ आइतबार अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदीकिनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ वर्षीय पिता खेमलालले दागबत्ती दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सरकारी निर्णयअनुसार आइतबार पौने १ बजे गौतमको सेती अञ्चल अस्पतालबाटै राष्ट्रिय सम्मानका साथ दस किलोमिटर लामो शवयात्रा सुरु भएको थियो । भारतविरुद्ध चर्का नाराबाजीसहित अघि बढेको १० किलोमिटर लामो शवयात्रामा कैलाली-कञ्चनपुरका दसौं हजार सर्वसाधारण सहभागी भएका थिए ।

धनगढी बजारभरि लाममा बसेका महिला, बालबालिका र नगरवासीले गोविन्दको शरीरमा चामल, फूल र अबिर चढाउँदै श्रद्धाञ्जली दिएका थिए । नगरका चोकचोकमा आइतबारका लागि तय गरिएका होलीमिलन कार्यक्रम स्थगित गर्दै नगरवासी गौतमको शवयात्रामा मिसिएका थिए । ‘हामीले होलीमिलन कार्यक्रम स्थगित गर्‍यौं’, धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरूले भने । सर्वसाधारणले आइतबार गोविन्दलाई श्रद्धाञ्जली दिनका लागि होली नखेल्ने र रङ नलगाउने भन्दै शवयात्रामा सहभागी हुन आह्वान गरेका थिए । धनगढी, चौराहा, त्रिनगर भन्सार, डोकेबजार हुँदै शवयात्रा दोदाकिनार पुगेको थियो । शवयात्रामा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘वीर गोविन्द जिन्दावाद’, ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’ जस्ता नारा लगाएका थिए ।

यसअघि आइतबार बिहान ८ बजे नै शवयात्रा सुरु गर्ने भनिए पनि प्रशासनको तयारी अभावका कारण दिउँसो पौने एक बजे मात्रै धनगढीस्थित सेती अञ्चल अस्पतालबाट शवयात्रा सुरु भएको थियो । देशको सीमा सुरक्षार्थ ज्यानको आहुति दिएका गौतमको शवयात्रा सुरु हुँदा आफन्तको रुवाबासी चलेपछि सहभागी धेरैका आँखा रसाएका थिए ।

कञ्चनपुरको डोकेबजारबाट शवयात्रामा ठूलो संख्यामा कञ्चनपुरका स्थानीय बासिन्दा मिसिएका थिए । दोदा नदीकिनारमा शवयात्रा पुग्नुअघि नै हजारौं सर्वसाधारण पुगिसकेका थिए । गौतमको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलीका लागि केहीबेर राख्ने भनिए पनि समय अभावले सीधै दोदाकिनार लगिएको थियो । त्यहाँ सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न धौधौ परेको थियो ।

नेपाल-भारत सीमाभन्दा निकै वर पुनर्वासको आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा भएको विवादले उग्र रूप लिँदा भारतीय सुरक्षाकर्मीले गत बिहीबार गोली हानी गौतमको हत्या गरेका थिए । भारतको लखिमपुर कोतवालीका दरोगा (सई) अरविन्द शुक्लाले पेस्तोलबाट गोली हानेको प्रत्यक्षदर्शीले बताएका थिए । घटनास्थलमा घाइते भएका गौतमको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको हो । चिकित्सकले उनको मिर्गौलानजिकै गोली लागेको र अत्यधिक रक्त श्रावका कारण मृत्यु भएको बताएका थिए ।

शवयात्रामा नेता अनुपस्थित
गोविन्द गौतमको शवयात्रामा ठूला नेता अनुपस्थित देखिए । पार्टीको मेची-महाकाली राष्ट्रिय जागरण अभियानका लागि टीकापुर पुगेका एमाले नेता भीम रावल, अत्तरियास्थित घरमै रहेका माओवादी केन्द्रका नेता लेखराज भट्ट, अहिलेको सरकारका मन्त्री कोही पनि शवयात्रामा सहभागी नभएपछि पुनर्वासका जनताले विरोध जनाएका छन् ।

कञ्चनपुर १ का सांसद दिवानसिंह बिष्टले राष्ट्रिय झन्डा ओढाएर गौतमलाई श्रद्धाञ्जली दिए पनि अरू कुनै ठूला नेता नआएकोमा पीडितका आफन्त निराश थिए । कतिसम्म भने कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसमेत शवयात्रामा सहभागी भएनन् । ‘कुनै मन्त्री नै आउनुपथ्र्यो तर गृहसचिव, सहसचिव वा अरू कुनै उच्चस्तरीय अधिकारी कोही पनि नआउनु विडम्बना हो’, पुनर्वास नगरपालिका ८ का लोकेन्द्र लम्सालले भने ।

यसअघि प्रशासनको कमजोरीका कारण बिहान ८ बजेदेखि नै सुरु गरिने भनिएको शवयात्रा झन्डै ५ घन्टापछि सुरु भएको थियो । राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने बताइएको भए पनि शवयात्राका लागि प्रशासनले फोहोर बोक्ने गाडी पठाएपछि आक्रोशित युवाले प्रशासनविरुद्ध पनि नाराबाजी गरेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment