Tuesday, February 28, 2017

तराईमा सद्भाव भड्काउने हर्कत नगर्न गृहमन्त्रीलाई एमालेको चेतावनी सजग रहन कार्यकर्ता र जनसमुदायलाई अपिल

काठमाडौं, १७ फागुन । नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले यही फागुन २१ गतेदेखि आयोजना हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न निधिले आह्वान गर्दै दिएको उत्तेजक अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

‘राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय छ,’ पार्टी सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’

गृहमन्त्री निधिले सोमबार सिरहामा आयोजित नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गरेका थिए । तराईमा एमालेले गरेका कार्यक्रम विथोल्न निर्देशन दिँदै लाठो समाएर लखेट्न आह्वान गरेका थिए ।

‘कुनै अवाञ्छित गतिविधि भए सम्पूर्ण जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ’

एमालेले मेची–महाकाली अभियानका क्रममा कुनै अवाञ्छित गतिविधि भए त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री र सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

‘हामीले हाम्रो अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति सार्वजनिक भएको छ,’ एमालेले भनेको छ– ‘कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्वतः स्पष्ट छ ।’

सद्भाव भड्काउने हर्कत नगर्न चेतावनी

पार्टी सचिव भट्टराईद्धारा जारी विज्ञप्तिमा तराई मधेसमा सद्भाव भड्काउने गतिविधि नगर्न गृहमन्त्री निधिलाई चेतावनी समेत दिइएको छ । र, सद्भाव, एकता र लोकतन्त्रविरोधी तत्वहरुसँग सजग रहन आमकार्यकर्ता र जनसमुदायलाई एमालेले अपिल समेत गरेको छ ।

‘हाम्रो पार्टीले तराई–मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर त्यसरी अभिव्यक्ति नदिन, राजनीतिक कार्यक्रमको राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न र स्थितिलाई भड्काउने खालका कुनै पनि हर्कत नगर्नका लागि नेकपा (एमाले) आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ– ‘साथै, त्यस्ता सद्भाव, एकता र लोकतन्त्रविरोधी तत्वहरुसँग सजग रहन हाम्रो पार्टी आमकार्यकर्ता र जनसमुदायलाई अपिल गर्दछ ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment