Wednesday, March 8, 2017

एमालेले सप्तरी घटनाको भण्डाफोर गर्ने, वास्तविकता जानकारी गराउन सबै जिल्लामा आमसभा

काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सप्तरीको राजविराजमा भएको आपराधिक घटनाको भण्डाफोर गर्न जिल्ला जिल्लामा आमसभा गर्ने भएको छ ।

बुधबार पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षमा बसेको केन्द्रीय सचिवालयको बैठकले राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको आततायी हस्तक्षेपविरुद्ध कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने निर्णय गरिएको छ । आमसभाको मिति तय गरी कार्यक्रम गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ ।’

भोलि राजधानीमा बृहत भेला
यसैबीच सप्तरी घटनाको बारेमा वास्तविकता जानकारी गराउन भोलि २ बजे रामशाहपथस्थित युगम्बर पार्टी प्यालेस (ट्राफिक कार्यालय पछाडि) मा बृहत् भेला आयोजना गरिएको छ । उक्त भेलामा अनिवार्य सहभागी हुन काठमाडौं उपत्यकास्थित पार्टी सदस्यहरु, मोर्चा संगठनका सदस्यहरु र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यहरुलाई निर्देशन दिइएको छ ।

प्रदेश नम्बर २ मा विस्तारित अगुवा कार्यकर्ता भेला गर्ने
आज बसेको बैठकले प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । साथै, प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आयोजना गरिनेछन् । ती कार्यक्रमहरुको कार्यतालिका प्रदेश नम्बर २ को पार्टी नेतृत्वसँग परामर्श गरी तय गरिनेछ ।

आपराधिक क्रियाकलाप अबिलम्ब रोक्न मोर्चालाई चेतावनी
एमाले बैठकले तराईमा एमाले नेता कार्यकर्ता र पार्टीमाथिको आक्रमण रोक्न मधेसी मोर्चालाई चेतावनी समेत दिएको छ ।

‘मधेसका विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको छ, एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएका छन्,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन चाहन्छ ।’

एमालेले आफ्ना नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment