Tuesday, March 14, 2017

नेपालगञ्जमा सम्वोधन गर्दै ओलीले भने- मधेसी दल रहेसम्म मधेसका समस्या समाधान हुँदैनन्

नेपालगञ्ज, १ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दल रहेसम्म तराई मधेसको समस्या समाधान हुन नसक्ने ठोकुवा गरेका छन् ।

गत फागुन २१ गतेबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज बाँकेको नेपागन्जमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान नहुने स्पष्ट पारे । उनले भने– ‘मधेसवादी दलका नेताहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् । अनि कसरी हुन्छ समस्याको समाधान ?’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अगाडि भने:
– देशका समस्या पहिचान गर्न र तिनको समाधान गर्नका लागि एमाले सक्षम छ । तिनै नीतिहरुका कारण आज एमाले लोकप्रिय बनेको छ ।

– राजनीतिमा पक्ष, विपक्ष हुन्छन्, मतभिन्नता हुन्छन् । तर, त्यसैका नाममा आपराधिक बाटो लिने छुट कसैलाई छैन । संविधान बनिसकेपछि त्यसलाई कार्यान्वयन हुन नदिने कोसिस भइरहेको छ । यो एमालेमाथिको मात्र आक्रमण होइन, लोकतन्त्र र संविधानमाथिको आक्रमण हो ।

– केपी ओलीले हामीलाई युपी जाऊ, विहार जाऊ भन्यो भन्छन् । मैले भन्नैपर्दैन, हप्ता, १५ दिनमा आफैं गएकै छन् ।

– एमालेलाई काला झण्डा हेर्ने फुर्सत छैन, देश निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ । केही तत्वहरु देशलाई जात, भूगोल रधर्मका नाममा विखण्डन गर्न चाहन्छन् । नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ ।

– हिजो एउटा रुवान्डा थियो, आज छ वटा भइसके । युगोस्लाभियामा कट्टु लगाउने कपडा छैन तर एके ४७ बन्दुक भिराइयो । जातिजातिका बीचमा मारकाट भयो । नेपालले त्यसलाई अस्वीकार गर्यो । त्यही भएर कतिपयलाई छटपटी भएको छ ।

– मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन् । उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् ।

– केपी ओलीले हामीलाई युपी जाऊ, विहार जाऊ भन्यो भन्छन् । मैले भन्नैपर्दैन, हप्ता, १५ दिनमा आफैं गएकै छन् ।

– संविधानले कुनै भेदभाव गरेको छैन । संविधान बनाउने बेलामा विरोधमा उत्रिएकाले तिनीहरुलाई कुरा थाहा छैन होला, पढेर बताइदिए हुन्छ, कहाँ भयो भेदभाव ? भेदभावको हल्ला चलाएर संविधान मान्न सकिन्न भन्ने तर एमालेका विरुद्धमा मत हाल्न लागि ०७२ असोज २४ गते कुदेर आए, फेरि ०७३ साउन १९ गते कुदेर आए । भत्ता खाने बेलामा संविधान मान्ने, मत हाल्ने बेलामा मान्ने, अरु समयमा मान्दिनँ भन्न मिल्छ ?

– हामी मुलुकलाई आत्मनिर्भर बनाउन चाहन्छौँ । खाद्यान्न, लत्ताकपडा जस्ता वस्तुमा आत्मनिर्भर हुनका लागि हामीले योजना अघि सारेका थियौँ । त्यो काम हामी गर्छौं, केही समय लाग्छ । कृषिमा आधुनिकीकरण, विशेष क्षेत्रको व्यवस्था, मत्स्यपालन, तरकारी खेती, औद्योगीकरण जस्ता काममा हाम्रो ध्यान छ ।

– मधेसी मोर्चांले अहिलेसम्म १ सय ८१ जना मराएको छ, दुई सय जना मारेको छ । यसले मधेसमा अशान्ति मात्रै ल्याएको छ । म आह्वान गर्छु, आउनुहोस्, समृद्धि र विकासमा बाटोमा लागौँ, आफ्नोृ गलत नीति छाड्नुस् ।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता माधवकुमार नेपालले भने:
– नेकपा (एमाले) को लोकप्रियताले गर्दा अरु पार्टीको होसहवास उडेको छ । निर्वाचन भयो भने एमालेले जित्छ भनेर उनीहरु डराइरहेका छन् ।

– एमालेले सद्भाव चाहन्छ । तर, अरु पार्टीले जातीय, क्षेत्रीय र धार्मिक विष फैलाउन खोजिरहेका छन् ।

– मधेसी मोर्चाका गलत क्रियाकलापले गर्दा मधेसलाई घाटा भएको छ । हिजोसम्म गुल्जार रहेको राजविराज, जनकपुर, सिरहा जस्ता सहरहरु आज सुकेका छन् । पहाडी मात्र होइन, मधेसी, मुस्लिम र थारु समुदायका मानिसहरुलाई सोध्नूस्, उनीहरु नै भन्छन्, यहाँ बस्ने अवस्था छैन । भन्सारमा एक नम्बरमा रहेको बीरगन्ज आज सुक्दै गएको छ ।



– देशभक्तिको भावना, राष्ट्रिय एकता र सद्भाव फैलाउनका लागि अभियान आयोजना गरेका छौं । यसले सबैलाई आपसमा जोड्नेछ । आम जनतामा चेतना र जागरण पैदा गर्नका लागि यो अभियान चल्नेछ ।

– सामाजिक सुरक्षाका लागि हाम्रो पार्टी सधैँ प्रतिबद्ध छ । बृद्धाबृद्धा, एकल महिला, दलित आदिका लागि सामाजिक सुरक्षाको काम हामीले नै सुरु गरेका हौँ ।

– मधेसका लागि विकासका काम गर्ने पार्टी एमाले मात्रै हो । तराईमा सडक, विमानस्थल बनाउने, सिचाइँ आयोजना सञ्चालन गर्ने, सदरमुकाममा ५० करोड विनियोजन गर्ने जस्ता काममा एमालेले अगुवाइ गरेको छ ।
– मधेसी दलका नेताहरुले मधेसलाई अधिकार दिइएन भनेर गरेको प्रचारका पछाडि लाग्नु भनेको कागले कान लग्यो भनेर आफ्नो कान छाम्नुको साटो कागका पछाडि दौडिनु हो ।

–  नेपाली भूमिभित्र भारतीय सैनिकले गोली हानेर नेपाली नागरिकलाई मार्दा पनि भारतसँग कुरा गर्न नसक्ने लाचार सरकारका कारण हाम्रो शिर निहुरिएको छ । मधेसी दलका नेताहरुले उल्टै भारतले मारेको छैन भनेर विदेशीको चाकडी गरिरहेका छन् । विदेशीको चाकडी गर्न लाज लाग्दैन ?

मधेसका ठेकेदार ठान्नेहरुले नै मधेसी जनताको शोषण गरिरहे: लालबाबु


पोलिट्ब्युरो सदस्य लालबाबु पण्डितले मधेसका ठेकेदार ठान्नेहरुले नै मधेसी जनताको शोषण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेसका सदरमुकाममा पुग्नुभयो भने तपाई सबभन्दा बढी वकिल, अदालत, न्यायाधीश र झगडिया पाइन्छ । त्यहाँ झगडा छ । त्यसबाहेक मधेसमा सबभन्दा ठूलो गरिबी छ । त्यसलाई हटाउनका लागि मधेसी दलहरुले के गरेका छन् ?’ उहाँले मधेसका नाममा त्यहाँका ५६ जना मन्त्री भए पनि मधेसी जनताको जीवनस्तरमा कुनै फरक नआएकाले जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मधेसी जनताका नाममा राजनीति गर्नेहरुले विदेशीको नभई स्वददेशीको वकालत गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज दिनेशचन्द्र यादवको अध्यक्षता, बैकल्ल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाईको सञ्चालन र बाँके जिल्ला अध्यक्ष अशोक कोइरालाको स्वागतमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

यसअघि स्थानीय बासिन्दा झाँकी र जुलुशसहित नगर परिक्रमा गर्दै नेपालगञ्जको एमाले सभास्थलमा पुगेका थिए । मधेसी मोर्चाका नाममा विभिन्न ठाउँमा बाटो रोक्ने, सामूहिक रुपमा अवरोध सिर्जना गर्ने र बम प्रहार गर्नेसम्मका काम गरिएको थियो । त्यसका बावबुद ठूलो संख्यामा स्थानीय बासिन्दा कार्यक्रममा सहभागी भएका थिए ।

नेपालगञ्जको कार्यक्रम सकेर अभियानको केन्दीय टोली बर्दियाको सदरमुकलाम गुलरियातर्फ प्रस्थान गरेको छ । गुलरियामा सभा आयोजना गरिनेछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment