Thursday, February 16, 2017

सँधै एकैप्रकारको खाना खानु ठीक कि बेठीक?

कुशल श्रेष्ठ

कहिले व्यस्तताले गर्दा अनि कहिले अल्छीपनाले गर्दा कतिपयले सँधै एकैप्रकारको खानाको परिकार खाने गर्दछन्। हुन त, दिनदिनै यसरी एउटै खाना खाइरहनु ‘वजन नियन्त्रण’को राम्रो र प्रभावकारी उपाय हो, तर, यस्तो प्रकारको व्यञ्जनले शरीरमा चाहिने पौष्टिक तत्वहरूको अभाव खट्किरहन्छ।

अनुसन्धानले देखाएअनुसार, मोटोपनाबाट मुक्ति पाएका र फेरि मोटाउन नचाहने मानिसहरूले धेरैजसो सँधै एकैप्रकारको खाना खाने गर्दछन्। तर खानाको परिकारमा भिन्नता ल्याउँदा मोटोपना बढ्छ भन्नु गलत हुन जान्छ, किनभने, मोटोपना नियन्त्रण गर्ने थुप्रै परिकारहरू छन्। सुतीसुती मोटोपना घटाउने उपायहरूको बारेमा पनि हामीले जानकारी दिइसकेका छौँ। हरेक दिन नसकेपनि, हरेक हप्तामा आफ्नो दिनहुँ आहारको परिकारमा फेरबदल ल्याउनु जरुरी हुन्छ। यसरी थरीथरीको परिकार खाँदा शरीरलाई पर्याप्त सबै पौष्टिक तत्वहरू मिल्दछ र शरीर स्वस्थ हुन्छ।

एक खोजबाट, बिभिन्न प्रकारका खानाहरू खाने मानिसहरूमा पाचन प्रक्रियासम्बन्धी समस्या हुने सम्भावना २१ प्रतिशतले कम हुने कुरा पत्ता लागेको थियो। साथै, केहि दिन बिराएर खानाको परिकार बदल्दा उच्च रक्तचाप, उच्च सुगर, मधुमेह तथा मुटु सम्बन्धी रोगहरू लाग्न सक्ने सम्भावना पनि कम हुने खोजबाट पत्ता लागेको थियो।

तथापी, आफ्नो नियमित भोजनलाई यसरी पनि फेरबदल गर्न सकिन्छः

१. हरेक हप्ता केहि नयाँ खानेकुरा खानुहोस्

दिनदिनै एउटै परिकार खाँदा खाँदा वाक्क पनि लाग्न सक्छ, त्यसैले हरेक ७ दिनमा कुनै नयाँ तर स्वस्थ किसिमको परिकार बनाउनुहोस्। यदि मोटोपनालाई नियन्त्रणमा राख्ने प्रयास गरिराख्नुभएको छ भने, नयाँ खानेकुरामा चिल्लोपना बढी नहोस्, मसालेदार नहोस् तर, मीठो अनि स्वस्थ होस्। त्यसपछि, फेरि अर्को हप्ता तपाईँले पहिलेकै खाना खान सक्नुहुन्छ, किनभने त्यतिबेला त्यो नै नयाँ भैसक्छ।

२. तपाईँको नियमित खानामा थोरै फरक ल्याउनुहोस्

उदाहरणको लागि तपाईँले सँधै दाल, भात र तरकारी खानुहुन्छ। अब तपाईँले यसमा थरीथरीको दाल प्रयोग गर्न सक्नुहुन्छ। सँधै आलु-काउलीको तरकारी बनाउनुहुन्छ भने काउलीको प्रकार फेर्न सक्नुहुन्छ (साधारण काउली र ब्रोकाउली)। यसै गरी हरेक खानालाई फेर्न सकिन्छ, स्वाद र बनाउने तरिकामा परिवर्तन नगरी तर पौष्टिक तत्वमा विविधता आउने गरी।

अन्त्यमा, सँधै एकैप्रकारको खाना खानु ठीक कि बेठीक त?

वास्तवमै भन्नुपर्दा सँधै एउटै खाना खानु बेठीक हुन जान्छ, किनभने हामीले खाना खाँदा धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ, जस्तै; स्वाद कस्तो छ? सफा छ कि छैन? चिल्लो कति छ? पिरो कति छ? अनि सँधै एउटै स्वादकै खाना खाँदा पनि खानुमा कुनै नौलोपना आउँदैन। मनोवैज्ञानिकहरूका अनुसार, “त्यतिबेला खाना स्वस्थ हुन्छ, जतिबेला तपाईँले मिठो मानेर खानुहुन्छ!”

अब, हरेक हप्ता खानाको परिकार फेर्दै खाँदा धेरै कुरामा फाइदा हुन्छ। मुटुसम्बन्धी रोग, मधुमेह, अनि अन्य घातक रोगबाट बचिन्छ भन्ने कुरा त माथि नै उल्लेख गरिसक्यौँ। यस्तो किन हुन्छ त भन्दा, थरी-थरीका खानामा थरी-थरीका पौष्टिक तत्वहरू र खनीज पदार्थहरू पाइन्छन् र शरीरलाई पनि पर्याप्त मात्रामा पौष्टिक तत्वको विविधता चाहिने हुन्छ। कुनै एक पौष्टिक तत्वले एउटा समस्याबाट बचाउँदछ भने अर्को तत्वले अर्कै समस्याबाट बचाउँदछ, त्यसैले हामीलाई समग्रमा सबै किसिमका पौष्टिक तत्वहरूको जरुरत पर्ने हुनाले नै सँधै एकैप्रकारको खाना खानुहुँदैन।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment