Friday, February 17, 2017

नियमित चिया पिउनुहोस्, मुटुरोगबाट बच्नुहोस्

कुशल श्रेष्ठ

कालो चिया पिउनाले मधुमेह, मृगौलाको पत्थरी, फोक्सोको क्यान्सर जस्ता समस्याहरूबाट बच्न सकिन्छ भन्ने कुरालाई हामीले पहिल्यै पनि उल्लेख गरिसकेका छौँ। तर चिया र मुटुको समस्याको सम्बन्धको बारेमा कुनै तथ्य पत्ता लागेको थिएन।

तर, हालै भएको एक अनुसन्धानबाट नियमित चियापानले हाम्रो मुटुको धमनीमा हुने कठीनतालाई कम गराउँदछ भन्ने तथ्य पत्ता लागेको छ। यसरी मुटुको धमनीमा कठीनता भएमा हृदयरोग लाग्ने र मानिसको आयु घट्ने हुन्छ।

चीनका बासिन्दाहरूमा गरिएको एक परीक्षणमा, कम्तीमा पनि ६ वर्षसम्म नियमित चिया पिउने मानिसहरूको मुटुको धमनीको पर्खाल बाकुलो नभएको र लचकतामा कमी नभएको तथ्य पत्ता लागेको छ। यसले गर्दा नियमित चियापानले मुटुको स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ भन्ने कुराको पुष्टि भएको छ।

चीनको ‘वुईशान मुनिसिपल हस्पिटल’का मुटुरोग विशेषज्ञ ‘किङ्ग-फेइ लिन’को नेतृत्वमा गरिएको यस अनुसन्धानले ४० देखि ७५ वर्ष उमेरका ५,००६ मना महिला र पुरुषहरूलाई जाँच गरेको थियो। ती मध्ये १,५६४ (३२.२ प्रतिशत) जनाले कम्तीमा पनि १२ वर्षसम्म हप्तामा एक वा एकभन्दा बढी चोटि चिया पिउने गरेको बताएका थिए।

सहभागीहरूलाई ४ समूहमा बाँडिएको थियोः १० वर्षसम्म नियमित चिया पिउने समूह, ६ देखि १० वर्षसम्म नियमित चिया पिउने, १ देखि ५ वर्षसम्म नियमित चिया पिउने र कहिलेकाहिँ मात्रै चिया पिउने।

त्यसपछि, अनुसन्धानकर्ताहरूले सहभागीहरूको मुटुको धमनीमा परेको चापलाई बुझ्नको लागि ‘ब्रेसियल-एङ्कल पल्स वेभ भेलोसिटी’ (brachial-ankle pulse wave velocity- baPWV) लाई नापेका थिए। सहभागीहरूको जीवनशैलीलाई समायोजन गरेपछि, दैनिक चिया पिउने समय र मात्रा बढ्दा ba-PWV घट्दछ भन्ने कुरा पत्ता लागेको थियो, जसको मतलब धमनीमा पर्ने कठीनाई कम हुनु हो।

धमनीको पर्खाल बाक्लिँदै गएमा र यसको लचकता घट्दै गएमा धमनीमा कठीनाई बढ्दै जान्छ र भविष्यमा मुटुरोगले सताउने सम्भावना पनि बढी हुन्छ, साथै हृदयघात हुने सम्भावना पनि बढ्दै जान्छ। त्यसैले मुटुबाट सजिलै रगतको सञ्चार हुनको लागि हाम्रो मुटुको धमनी सकेसम्म बढी लचिलो हुनु जरुरी हुन्छ, ताकी मुटुले धेरै काम गर्न नपरोस्।

चियामा पाइने ‘क्याटेचिन्स’ (catechins) र मुटुको धमनीमा हुने ‘इण्डोथेलायल कोष’को रसायनिक प्रतिक्रियाले धमनीलाई सुरक्षित राख्दछ भन्ने अनुमान अनुसन्धानकर्ताहरूले गरेका छन्। “नियमित चिया पिउनाले मानिसको मुटुको धमनीको कठीनाईमा कम हुँदै जान्छ, विशेष गरी ६ वर्षभन्दा बढी नियमित चिया पिउनेहरूको!”, अनुसन्धानकर्ताहरूले यस्तो निष्कर्ष निकालेका थिए।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment