|
|
आजको नागरिक दैनिकमा खबर छ– मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित एमालेविरुद्ध अभियान चलाउँदै आएको थियो । सप्तरीमा एमालेको प्रचारात्मक कार्यक्रममा पनि मोर्चाले अवरोध पु¥याएको थियो । सोही क्रममा शुक्रबार एमाले जिल्ला उपसचिव प्रतापनारायण चौधरीमाथि दुव्र्यवहारसमेत गर्न मोर्चा पछि परेन । सोही दिन दिउँसो एमाले पार्टी सचिव शम्भु यादवको झोला मोर्चाका कार्यकर्ता खोसे भने सांसद रञ्जु ठाकुर चढेको गाडीमा ढुंगामुढा गरियो ।
मोर्चाका कार्यकर्ताले आइतबार बिहानैबाट सप्तरीको राजविराज र एमाले कार्यक्रमस्थल तय भएको राजरंगशाला वरपर टायर बाल्दै प्रदर्शन गरेका थिए । राजरंगशालामा कार्यक्रम गरे मोर्चा–एमाले कार्यकर्ता तहमै भिडन्त निम्तिने खतरा देखेर एमाले सभा राजविराजबाट तीन किलोमिटर उत्तर बसबिटी ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सारियो । तर, सरकारी स्वामित्वको औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रम गर्न पाइँदैन भन्दै मोर्चा कार्यकर्ताले त्यहाँ पनि अवरोध गर्न खोजे । मोर्चाका कार्यकर्ताले औद्योगिक क्षेत्रको मूलद्वारमै तालाबन्दी गरे ।
तर, सोमबार बिहान सो क्षेत्रलाई सुरक्षाकर्मीले पूर्ण रूपमा नियन्त्रणमा लिएपछि एमाले कार्यक्रम तयारी सुरु भयो । बिहानैदेखि राजविराज, भारदह, कञ्चनपुर, रुपनीमा मोर्चाका कार्यकर्ताले टायर बालेर लाठीसहित प्रदर्शन गरिरहेका थिए । प्रदर्शनका कारण सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि एमाले नेताले भारदह–हनुमाननगर–राजविराज रुट परिवर्तन गरेर भारदह–कञ्चनपुर–रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने सुरक्षित बाटो रोजे ।
सुनसरी इनरुवाको कार्यक्रम सकेर एमाले अध्यक्ष केपी ओलीसहितको टोली सप्तरी प्रवेश गरेको थियो । भारदह, कञ्चनपुरमा कालो झन्डासहितको विरोध छिचोल्दै ओलीको टोली सोमबार अपराह्न ४ बजेतिर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश ग¥यो । त्यतिबेलासम्म मोर्चाका कार्यकर्ता सभास्थलनजिक पुगिसकेका थिए । ‘तर, उनीहरूलाई प्रहरीले औद्योगिक क्षेत्रबाट दक्षिण राजविराजतर्फ नै रोकेको थियो’, प्रत्यक्षदर्शी सुशीलादेवी साहले भनिन् ।
‘सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको क्रम चलिरहेको थियो । भित्र नेताहरूको भाषण भइरहेका बेला बाहिर सुरक्षाकर्मी–प्रदर्शनकारीबीच झडपले उग्र रुप लिन थालेपछि अश्रुग्यास प्रहार सुरु भयो सुशीला सम्झन्छिन्,‘पश्चिमी तेज हावाका कारण अश्रुग्यासको धुवाँ पूर्वको मलेठतर्फ सोझिँदै थियो, स्थानीयमा उकुसमुकुस बढ्दै थियो ।’
मलेठका विजय यादवका अनुसार आँखा पोल्नेगरी धुवाँले बस्तीलाई छप्पकै छोपेको थियो । ‘त्यसपछि हामी घरबाहिर निस्केर सडकतर्फ निस्कियौं,’ यादवले भने, ‘नेता भाषण सकेर फर्किने क्रममा थिए, अचानक गोली चल्न थाल्यो ।’ बस्तीतिर सुरक्षाकर्मीबाट गोली प्रहार हुन थालेपछि हामी घरभित्र पस्न दौडादौड गर्न थाल्यौं,’ उनले सुनाए, ‘तर, सुरक्षाकर्मी हाम्रो घर–घर पसेर जाइलागे ।’ सोही क्रममा तीनजनाको गोली लागेर मृत्यु भएको उनले सुनाए ।
प्रत्यक्षदर्शीमध्येकी अर्की एक हुन् कार्यक्रमस्थलअघि घर भएकी मुनीदेवी साह ।
उनी भन्छिन्, ‘अश्रुग्यासबाट भीड तितरबितर भइसकेपछि आएको सुरक्षाकर्मीको हुलले अन्धाधुन्द बस्तीतर्फ गोली चलाउन थाल्यो । मैंले त गोठमा लुकेर चार बालबचासहित ज्यान जोगाएँ ।’ आँखैअघि एक स्वास्थ्यकर्मी गोली लागेर ढलेको उनले सुनाइन् । उनी थिए, पोलियो खोप सञ्चालन गरेर फर्किएका परसबनी–४ का आनन्द साह । औद्योगिक क्षेत्रअघि मलेठ चोकमा लागेको गोलीले उनको ज्यान लियोे ।
यसैगरी पिताम्बर मण्डललाई उनको घर नजिक मलेठ–४ मा गोली लागेको थियो । सुरक्षाकर्मीको गोलीबाट उनी ढलेको स्थानमा रगत अझै आलै छ । उनको पनि मृत्यु भएको छ । सञ्जन मेहता (मृतक) लाई उनको घर मलेठ २ नजिक सुरक्षाकर्मीको गोली लागेको थियो ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment